खोटाङ–उदयपुर जोड्ने सगरमाथा लोकमार्गमा अस्थायी बेलिब्रिज जडानको काम सुरु
खोटाङ, १९ मंसिर – सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु भएको छ।
खोटेहाङ–९ लिच्कीराम्चे र रौतामाई–५ आँपटार जोड्ने मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याउन लागिएको हो। यसले दिक्तेल बजारदेखि पूर्वी तराईका जिल्लासम्म सिधा यातायात संचालन सम्भव बनाउनेछ।
गाईघाट–दिक्तेल सडक योजना कार्यालयका अनुसार ठेक्का सम्झौता भइसकेको छ र आवश्यक सामग्री तयारी अवस्थामा रहेकाले केही दिनभित्रै काम पूरा हुने जनाइएको छ। योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीका अनुसार, आगामी पुस १५ गतेभित्र अस्थायी बेलिब्रिज सञ्चालनमा आउने तयारी गरिएको छ।
फोक्सिङटारको बेलिब्रिज जडानको ठेक्का एमए/एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालिले ९६ लाख ७७ हजार ९३७ रुपैयाँमा पाएको छ। ठेकेदारका अनुसार आवश्यक सामग्री सबै तयारी अवस्थामा रहेको र अब जडान मात्र बाँकी छ।
सुनकोशी नदीकै बङ्शिलाघाटमा समेत अस्थायी बेलिब्रिज जडानको काम धमाधम भइरहेको छ। बराहपोखरी–५ पौवासेरा र चौदण्डीगढी–१ चौदण्डीगढीको सिमानामा पर्ने बङ्शिलाघाटमा गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले ५७ लाख रुपैयाँमा बेलिब्रिज जडानको जिम्मा पाएको छ। जडान पुस पहिलो हप्ताभित्र सम्पन्न गर्ने योजना छ।
स्थानीय बासिन्दा लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका थिए। प्रदेश सरकारले बजेट उपलब्ध गराएपछि अस्थायी बेलिब्रिज जडान सुरु गरिएको हो।
यसरी अस्थायी पुल जडान भएपछि स्थानीय स्तरका आवतजावतका समस्यामा सहजता आउनुका साथै मोटरेबल पक्की पुल निर्माणको काम पूरा नभएसम्म यातायात अवरुद्ध हुने अवस्था न्यून हुनेछ।