सुरेन्द्र पाण्डेले महाधिवेशन प्रतिनिधिलाई अग्रगामी पार्टीका लागि सहयोगको आग्रह गरे
काठमाडौँ— नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकताबद्ध गर्दै अग्रगामी पार्टीका रूपमा अघि बढाउन सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले नेपालको कम्युनिष्ट आन्दोलनलाई अझै अग्रगामी पथमा लैजानुपर्ने आवश्यकता औँल्याए। पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउँदै अगाडि बढ्न प्रतिनिधिहरूको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
उनले भने, “नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई अझै बढी एकताबद्ध र अग्रगामी बाटोमा लैजान महाधिवेशन प्रतिनिधिज्यूहरूको सहयोग हुन्छ भन्नेमा म विश्वस्त छु।”
पाण्डे संस्थापन पक्षबाट महासचिव पदका उम्मेदवार हुन्।