जेन–जी आन्दोलनमा फरार दुई कैदी पर्सा प्रहरीले पक्राउ
पर्सा ।पर्सा प्रहरीले जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा फरार भएका ती कैदीहरूलाई मंगलबार पक्राउ गरी वीरगञ्ज कारागारमा बुझाइएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले विशेष सूचनाको आधारमा केन्द्रीय कारागारबाट भागेका दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।
पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–२५ का प्रदेशी भनिने सुदामा पासवान रहेका छन्। उनी केन्द्रीय कारागार काठमाडौंमा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद भुक्तान गरिरहेका थिए र जेन–जी प्रदर्शनका क्रममा फरार भएका थिए।
त्यस्तै, बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानूनलाई पनि प्रहरीले पक्राउ गरी वीरगञ्ज कारागार बुझाएको छ। उनी उच्च अदालत पाटन इजलास हेटौँडाको आदेशअनुसार ५० हजार रुपैयाँ धरौटी तिर्न नसकी केन्द्रीय कारागार चलान भएका कैदी हुन्।
प्रहरीले फरार अन्य कैदीहरूको खोजी कार्यलाई तीव्र बनाइएको जनाएको छ।