राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता, समयमै निर्वाचनमा जोड
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ।
करिब एक घण्टा चलेको भेटमा समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण तथा समयमै निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ। छलफलका क्रममा संविधानअनुसार तोकिएको समयमै निर्वाचन हुनु आवश्यक रहेकोमा दुवै पक्ष सहमत देखिएका छन्।
भेटमा सबै राजनीतिक दल तथा समूहलाई समेटेर सहमतिको वातावरण निर्माण गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो। साथै, राजनीतिक स्थायित्व र आपसी सहकार्यका माध्यमबाट निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखिएको बताइएको छ।
छलफलमा निर्वाचनको विश्वसनीयता सुनिश्चित गर्ने र लोकतान्त्रिक मूल्य–मान्यतालाई थप मजबुत बनाउने विषय पनि उठान भएको थियो।