कुलमान घिसिङ: ‘एकता अरुको अस्तित्व नष्ट गरेर सम्भव हुँदैन’
काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले शनिबार बौद्धमा आयोजित उज्यालो नेपाल पार्टीको उद्घाटन समारोहमा एकताको सन्देश दिएका छन्। उनले भने, “एकतको अर्थ अरुलाई समाप्त गर्नु होइन। सबैको अस्तित्व स्वीकार गर्दै सबैलाई सम्मान हुनेगरी अघि बढ्नु नै साँचो एकता हो।”
मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको भन्दै नयाँ शक्तिहरूले अहंकार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने बताए। उनले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको उल्लेख गर्दै कार्यकर्ताहरूलाई घरमा बत्ती बाल्ने बित्तिकै ‘उज्यालो’ को अनुभूति फैलाउन निर्देशन दिए।
उनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने अवसरका रूपमा लिएर जनताले सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। मन्त्री घिसिङले पार्टी अभियान सानो झिल्कोबाट सुरु भएर अहिले राष्ट्रिय स्तरमा फैलिएको र देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार भइरहेको बताए।