तोकिएकै मितिमा निर्वाचन गर्ने दिशामा मुलुक अघि बढेको छ: प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थातर्फ मुलुक अघि बढेको बताएकी छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको “शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य” विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित वर्तमान सरकार गठन भएको स्पष्ट पारिन्।
उनले राजनीतिक दल तथा युवाहरूसँग निरन्तर संवाद र सहकार्यका माध्यमबाट सरकारले तोकिएकै मितिमा निर्वाचन गर्न अनुकूल वातावरण बनाएको बताइन्।
प्रधानमन्त्री कार्कीले राजनीतिक परिवर्तन भए पनि समयानुकूल आम नागरिकको जीविकामा अपेक्षित सुधार हुन नसकेको, पेसा, व्यवसाय र रोजगारीका अवसर सिर्जना हुन नसकेको तथा आचरण र व्यवहार न्यायपूर्ण नबन्दा जेन–जी आन्दोलनको अवस्था सिर्जना भएको उल्लेख गरिन्।
जेन–जी आन्दोलनपछिको असामान्य परिस्थितिलाई सम्हाल्दै पुनः अवस्था नबिग्रियोस् भन्ने उद्देश्यले सरकारले अत्यन्त संयमित ढंगले शान्ति सुव्यवस्था कायम गरिरहेको उनले बताइन्।
प्रधानमन्त्री कार्कीले मुलुकलाई विधिको शासनमा अघि बढाउने, लोकतान्त्रिक उपलब्धि जोगाउने, दिगो स्थिरता कायम गर्ने र व्यावसायिक वातावरण निर्माण गर्ने अचुक माध्यम निर्वाचन नै भएको स्पष्ट पारिन्।
उनले जेन–जी आन्दोलनका कारण क्षतिग्रस्त भएका व्यवसायको पुनरुत्थानका लागि मौद्रिक, वित्तीय तथा विकास योजनामार्फत निजी क्षेत्रका मागहरू सम्बोधन गरिएको जानकारी दिइन्।
प्रधानमन्त्री कार्कीले उद्यमी तथा व्यवसायीलाई द्रुत सेवा र सुरक्षा प्रदान गर्न बन्द, हडताल, तोडफोड, आगजनीजस्ता गतिविधिलाई निषेधित क्षेत्रका रूपमा संरक्षण गर्न साझा प्रतिबद्धता आवश्यक रहेको बताइन्।
साथै, जेन–जी आन्दोलनका क्रममा घुसपैठ, लुटपाट, आगजनीजस्ता आपराधिक गतिविधिमा संलग्न भई गलत फाइदा उठाउने व्यक्ति तथा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायहरू सक्रिय रूपमा क्रियाशील रहेको पनि उनले उल्लेख गरिन्।