सातौँ दिनमा नेप्से सामान्य बढ्यो, १४८ कम्पनीको मूल्य बढ्यो
काठमाडौं, २३ मंसिर । लगातार छैटौं दिन घटेको सेयर बजार सातौं दिनमा सामान्य बढेको छ। आज नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४ अंकमा पुगेको छ। बजार दिउँसो २:५४ बजे २६०६ अंकमा झरेको थियो भने अन्तिम ६ मिनेटमा बढेर नेप्से २६१४ अंकमा बन्द भयो। आज न्यूनतम नेप्से २६०६ अंक र अधिकतम २६२० अंकमा रहेको थियो।
आज १४८ कम्पनीको मूल्य बढ्दा १०१ कम्पनीको घट्यो र ९ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम अघिल्लो दिनको ४ अर्ब ६६ करोड रुपैयाँभन्दा घटेर ३ अर्ब ७५ करोड रुपैयाँमा सीमित रह्यो। बैंकिङ, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार क्षेत्र केही घटेका छन् भने विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा र उत्पादन/प्रशोधन क्षेत्रमा मूल्य बढेको छ।
विशेषतः स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। स्वेतगंगा हाइड्रोपावर ८.७६%, सुपरमादी हाइड्रोपावर ८.१०% ले बढेका छन्। हिमस्टार ऊर्जा सबैभन्दा धेरै ३.८८% घटेको छ भने मिथिला लघुवित्त, कालिका लघुवित्त र लक्ष्मी सनराइज बैंकको मूल्य पनि घटेको छ। आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, लक्ष्मी सनराइज बैंक, राधि विद्युत् कम्पनी, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्स छन्।