दलहरूसँगको छलफल सकारात्मक र फलदायी : कानुनमन्त्री सिन्हा
काठमाडाैँ ।अन्तरिम सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूसँग भएको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन्।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँगको भेटका क्रममा राप्रपा कार्यालय पुगेका मन्त्री सिन्हाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई कसरी प्रभावकारी, धाँदलीरहित, स्वतन्त्र र सहज बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए।
उनका अनुसार राप्रपाले निर्वाचन अनिवार्य रूपमा गरिनुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानुनमन्त्री सिन्हा, सञ्चारमन्त्री जगदशी खरेल तथा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त विभिन्न राजनीतिक दलका कार्यालयहरूको अनुगमनसमेत गरिरहेका छन्।