एमालेमा पदाधिकारी संख्या बढाउने तयारी, ओली निकटस्थमार्फत माहोल निर्माण
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र हुने स्थान भृकुटीमण्डपमै जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पदाधिकारीको संख्या बढाउने रणनीति अघि सारेका छन्। अध्यक्ष ओलीले यो प्रस्ताव प्रत्यक्ष रूपमा आफैं अघि नबढाई आफ्ना निकटस्थ नेतामार्फत माहोल निर्माण गरिरहेको एक नेताले जानकारी दिए।
आइतबारको केन्द्रीय समिति बैठकमा विधान संशोधन गरेर अघि बढ्ने वा हालको विधानलाई कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। ओली निकट केन्द्रीय सदस्यहरूले विधान संशोधनको पक्षमा धारणा राखिरहेका छन्। सिधै अध्यक्ष स्वयंले प्रस्ताव ल्याउँदा विरोध हुनसक्ने भएकाले ओलीले निकटस्थ नेताहरूलाई पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने गरी धारणा राख्न लगाएको ती नेताको भनाइ छ।
सोहीअनुसार केन्द्रीय सदस्य खिमलाल देवकोटा, शेरबहादुर तामाङलगायतका नेताहरूले ९ सचिव र ५ उपाध्यक्ष रहने गरी पदाधिकारीको संख्या विस्तार गर्नुपर्ने प्रस्ताव बैठकमा राखेका छन्। यो प्रस्ताव हाल केन्द्रीय समिति बैठकमा छलफलको विषय बनेको छ।
अध्यक्ष ओलीले बैठक हलमा प्रवेश गर्ने क्रममा समेत पदाधिकारी थपिने संकेत दिएको बताइएको छ।
केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम जारी रहेकाले आजको बैठकबाट विधान संशोधन तथा पदाधिकारी संख्याबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। यद्यपि एमालेकै वरिष्ठ नेता ईश्वर पोखरेल पक्षले भने विधान संशोधनको विरोध गर्दै आएको छ।