एमालेको ११औँ महाधिवेशन: ओली र पोख्रेलबीच नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा सुरु
काठमाडौं, २९ मंसिर — नेकपा (एमाले)को ११औँ महाधिवेशन भृकुटीमण्डपमा जारी छ। आजदेखि महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिष्पर्धामा छन्। दुवै समूहले उपाध्यक्ष, उपमहासचिव र सचिवका उम्मेदवार सहित पूर्ण प्यानल तयार पारेका छन्।
ओलीको प्यानलमा शंकर पोखरेल महासचिव पदमा दोहोरिने पक्का भएका छन्। उपाध्यक्ष पदमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागेको छ। उपमहासचिवमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको छ। सचिव पदका उम्मेदवारमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको छ।
पोख्रेल समूहको प्यानलमा महासचिवमा सुरेन्द्र पाण्डेको नाम पक्का भएको छ। उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार हुने पक्का भएका छन्। उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरीको नाम समावेश छ। सचिव पदका उम्मेदवारमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको नाम टुंगो लागेको छ। पोख्रेल समूहले कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि सूचीमा राखेको छ।
आजै निर्वाचन प्रक्रिया पूरा गरेर पुस १ गते बिहान ११ बजे देखि साँझ ६ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ। उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ। त्यसपछि २ बजेसम्म उजुरी दिन सकिने व्यवस्था छ। उजुरीको जाँचबुझ पछि आज साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने छ।