एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा उखु क्रसिङ सुरु, कच्चा पदार्थ अभाव
गौशाला — महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले यस वर्षको चिनी उत्पादनका लागि उखु क्रसिङ सुरु गरेको छ। उद्योगले सोमबारदेखि उखु पेल्ने काम थालेको हो। गत वर्ष भने उद्योगले मङ्सिर २६ गते नै क्रसिङ सुरु गरेको थियो।
यस वर्ष गत वर्षको तुलनामा करिब दुई साता ढिलो गरी उद्योग सञ्चालनमा आए पनि उखु भने पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन। किसानले उखु काटेर उद्योगसम्म पुर्याउन नसक्दा कच्चा पदार्थको अभाव देखिएको हो।
उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार उद्योगले क्रसिङ सुरु गरे पनि क्षमताअनुसार उखु आपूर्ति हुन सकेको छैन। “हाम्रो दैनिक क्रसिङ क्षमता ५५ हजार क्विन्टल हो, तर पहिलो दिन उद्योगमा आएको उखु १५ हजार क्विन्टल पनि पुगेन,” उनले भने, “यसका कारण रोकी–रोकी क्रसिङ गर्नुपर्ने अवस्था छ।” उद्योग सुचारु रूपमा सञ्चालन गर्न घानमै कम्तीमा ३० हजार क्विन्टल उखु आवश्यक पर्ने उनले बताए।
उता किसानहरूले मौसम प्रतिकूल हुँदा उखु कटानमा समस्या भएको बताएका छन्। भङ्गाहा–४ का उखु किसान अरुण गिरीले चिसो बढेकाले मजदुरको अभाव भएको बताए। “हामी पनि उखु छिटो काटेर उद्योगमा पुर्याउन चाहन्छौँ, तर अत्यधिक जाडोका कारण जनशक्ति पाउन गाह्रो भएको छ,” उनले भने, “एक–दुई दिनमै कटानले गति लिने अपेक्षा छ।”
सरकारले यस वर्ष मङ्सिर २२ गते उखुको मूल्य निर्धारण गरेको थियो। तोकिएको मूल्यअनुसार उद्योगले प्रतिक्विन्टल ६२० रुपैयाँ दिनेछ भने सरकारले अनुदानबापत ७० रुपैयाँ उपलब्ध गराउनेछ। यसरी किसानले प्रतिक्विन्टल कुल ६९० रुपैयाँ पाउनेछन्, जुन गत वर्षभन्दा ७० रुपैयाँ बढी हो। गत वर्ष उद्योग मूल्य ५८५ र अनुदान ३५ रुपैयाँ गरी किसानले प्रतिक्विन्टल ६२० रुपैयाँ पाएका थिए।
यसपालि किसानहरूले उखुको मूल्य र अनुदानसहित प्रतिक्विन्टल ७५० रुपैयाँ पाउनुपर्ने माग राख्दै आएका थिए। मागअनुसार नभए पनि भाउ केही बढेकामा किसानले आंशिक सन्तोष व्यक्त गरेका छन्।
जिल्लामा यस वर्ष नौ हजार ६०० बिघामा उखु खेती गरिएको छ। उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार यसमध्ये पाँच हजार बिघामा खुट्टी (दोस्रो वर्षको बाली) र चार हजार ६०० बिघामा मुडन (पहिलो वर्षको बाली) उखु रहेको छ।