२१ फागुनको निर्वाचनमा ३१ संस्थाले गर्ने पर्यवेक्षण
काठमाडौं, १ पुस।आगामी २१ फागुनमा हुने निर्वाचनको पर्यवेक्षणका लागि ३१ वटा संस्थाले अनुमति पाएका छन्। निर्वाचन आयोगका अनुसार निर्वाचन पर्यवेक्षणका लागि निवेदन आह्वान गर्दा ४४ वटा राष्ट्रिय र चार वटा अन्तर्राष्ट्रिय संस्थाबाट आवेदन प्राप्त भएको थियो।
आवेदन दिएका संस्थामध्ये तोकिएका मापदण्ड र प्रक्रिया पूरा गर्ने २७ वटा राष्ट्रिय तथा चार वटा अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति दिने निर्णय गरिएको आयोगले जनाएको छ।
अनुमति प्राप्त राष्ट्रिय संस्थाहरूमा डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल, सामुहिक अभियान, नेपाल मानव अधिकार संगठन, युवा वकालत नेपाल, निर्वाचन पर्यवेक्षण समिति नेपाल, लोकतन्त्र तथा निर्वाचन सरोकार नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), संघीय बहसमा युवा, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाललगायत रहेका छन्।
यसैगरी नेपाल मतदाता अधिकार मञ्च, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपाल, सुशासन महासंघ नेपाल, राष्ट्रिय व्यवसायिक पहल, महिला कानून र विकास मञ्च, बागेश्वरी असल शासन क्लब (बास), समृद्ध आधार नेपाल, कानूनी न्यायिक अध्ययन प्रतिष्ठान, महिला सेवा संस्था नेपाल, युवालय, विश्व उपभोक्ता महासंघ नेपाल, उन्नत नेपाल, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र सञ्चारिका समूह नेपालले पनि निर्वाचन पर्यवेक्षणको अनुमति पाएका छन्।
अन्तर्राष्ट्रियस्तरबाट द कार्टर सेन्टर (एटलान्टा), द मल्टिडिसिप्लिनरी इन्स्टिच्यूट अफ ट्रेनिङ एण्ड लर्निङ (म्यासेच्यूट्स), इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्यूट र एसियन नेटवर्क फर फ्री इलेक्शन्स (एएनएफआरईएल) लाई पर्यवेक्षणका लागि अनुमति दिइएको आयोगले जनाएको छ।