मधेश सरकारमा मन्त्रिपरिषद् विस्तारको तयारी
जनकपुरधाम, २९ मंसिर — मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज आफ्नो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन्। मुख्यमन्त्री यादवले सातदलीय गठबन्धनभित्रबाट मन्त्रालय तोकेर एक–एक जना मन्त्री नियुक्त गर्ने योजना बनाएका छन्।
आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व सुनिश्चित गर्दै मन्त्रालयसहित मन्त्री नियुक्त गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन्। उक्त बैठकका सहभागी नेताका अनुसार आगामी पुस ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिन पनि तयारी गर्दैछन्।
गत मंसिर १९ गते ६ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए। उनले मंसिर २१ गते प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएका थिए र यसअघि तीन दलबाट तीन जना मन्त्री नियुक्त गरिसकेका छन्।
अहिलेसम्म जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव अर्थमन्त्री बनेका छन्। कांग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल बिना विभागीय मन्त्री नियुक्त भएका थिए। सात दलीय गठबन्धनमा भागबण्डा मिल्न नसक्दा दुई जना मन्त्री अहिलेसम्म बिना विभागीय थिए।
मुख्यमन्त्री यादवले आज दुवै बिना विभागीय मन्त्रीसहित अन्य दलबाट पनि प्रतिनिधित्व सुनिश्चित गर्दै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।