मानव आश्रम झापाद्वारा एक वर्षमा १२१ जना सहयोगापेक्षीको उद्धार
मेचीनगर–४, बाहुनडाँगी– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षको अवधिमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ।
सडक तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक मानवहरूको उद्धार गरी पालनपोषण, उपचार तथा सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए।
मानव आश्रमको १७औँ शाखाका रूपमा २०८१ मङ्सिर २३ गते झापा शाखा औपचारिक रूपमा सञ्चालनमा आएको हो। शाखाको वार्षिक प्रतिवेदनअनुसार एक वर्षको अवधिमा आश्रम सञ्चालनका लागि रु ५४ लाख ८१ हजार ९१५ खर्च भएको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार सो अवधिमा शाखाले सेवा आम्दानीतर्फ रु ५४ लाख ६९ हजार ५५७ र पुँजीगततर्फ रु ३२ लाख ६६ हजार ३४८ आम्दानी गरेको छ। शाखाको समग्र सम्पत्ति रु दुई करोड २६ लाख ७१ हजार ११८ रहेको छ। साथै आश्रमको अक्षयकोषमा रु दुई लाख ५२ हजार ८८०, नगद मौज्दात रु २१ हजार १८९ र बैंक मौज्दात रु नौ लाख २७ हजार ११३ रहेको जनाइएको छ।
मेचीनगर–४ मा आश्रमको आफ्नै भवन रहेको छ। स्थानीय समाजसेवी रामबहादुर प्रधानको परिवारले दान दिएको दुई बिघा पाँच कट्ठा जग्गामा आश्रम सञ्चालन हुँदै आएको छ।
उद्धार गरिएकामध्ये सम्भव भएका व्यक्तिहरूको पारिवारिक पृष्ठभूमि पहिचान गरी ३० जनाको सफल पारिवारिक पुनर्मिलन गराइएको छ। हाल झापा शाखामा ७२ जना आश्रित संरक्षणमा रहेको संयोजक विश्वकर्माले जानकारी दिए।