रौतहटमा डिस्टिलरीमा विस्फोट, एकको मृत्यु, पाँच घाइते
रौतहट – कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान भएको बोइलर विस्फोटमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलका अनुसार मृत्यु हुने व्यक्ति कटहरिया नगरपालिका–९ बलुवा गाउँका ३५–४० वर्षका लक्ष्मण यादव हुन्। विस्फोट अत्यन्त शक्तिशाली रहेकाले डिस्टिलरी परिसरमा पनि क्षति पुगेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्जतर्फ रिफर गरिएको छ। घाइतेको पहिचान र विस्फोटको ठोस कारण अझै खुलिसकेको छैन। प्रहरीले दुर्घटनामा घाइते तथा मृतकको संख्या बढ्न सक्ने चेतावनी दिएको छ।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। सुरक्षाकर्मीले सम्भावित थप क्षति हुन नदिन घटनास्थल नियन्त्रणमा लिँदै सुरक्षा कडा बनाएका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले घटनाको पुष्टि गर्दै अनुसन्धानका लागि थप टोली परिचालन गरिएको जानकारी दिएका छन्। यसैबीच, स्थानीयवासीहरूले डिस्टिलरी सञ्चालकको लापरबाहीका कारण यति ठुलो दुर्घटना भएको आरोप लगाएका छन्।