नेपाल पर्वतारोहण संघद्वारा मुख्य लेखा अधिकृत माग
काठमाडौँ — नेपाल पर्वतारोहण संघ (एनएमए) ले रिक्त रहेको मुख्य लेखा अधिकृत पदका लागि अनुभवी तथा योग्य जनशक्ति माग गरेको छ। संघले संस्थाको आर्थिक गतिविधिको नेतृत्व र व्यवस्थापन गर्न पूर्णकालीन करार सेवामा काम गर्ने कर्मचारीका लागि आवेदन आह्वान गरेको हो।
इच्छुक उम्मेदवारले सन् २०२५ जनवरी ६ भित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदन दिनका लागि अर्थशास्त्र, व्यवस्थापन वा लेखा विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
कार्यअनुभवको हकमा नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा ५ वर्ष वा राजपत्राङ्कित तृतीय श्रेणीको पदमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव आवश्यक रहेको संघले जनाएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन प्रणालीबारे राम्रो ज्ञान भएको, नेतृत्व क्षमता प्रदर्शन गर्न सक्ने तथा अङ्ग्रेजी भाषामा दख्खल राख्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
उम्मेदवारको उमेर ४५ वर्षभन्दा बढी हुनुहुँदैन। छनोट भएका कर्मचारीले सुरुमा ६ महिनाको करार अवधिमा काम गर्नुपर्नेछ भने कार्यसम्पादन र संस्थाको आवश्यकताका आधारमा उक्त अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।
इच्छुक उम्मेदवारले आफ्नो विस्तृत व्यक्तिगत विवरण (सीभी) संघको आधिकारिक इमेल ठेगानामा पठाउनुपर्ने जनाइएको छ।