राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन खुला
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिस समितिले दाङस्थित प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। समितिद्वारा मङ्सिर २५ गते प्रकाशित सूचनामा प्रतिष्ठान ऐन, २०७४ र नियमावली, २०७४ बमोजिमको आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारलाई सात दिनभित्र आवेदन दिन आग्रह गरिएको छ।
इच्छुकले सार्वजनिक बिदा परेको खण्डमा सोको भोलिपल्टसम्म नीति, योजना तथा अनुगमन महाशाखा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारस्थित सिफारिस समितिको सचिवालयमा आवेदन पेस गर्न सक्नेछन्। आवेदनका साथ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तथा नियमावलीमा उल्लेखित योग्यता, अनुभव, रितपूर्वकको निवेदन तथा संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न तयार पारिएको सिलबन्दी व्यावसायिक कार्ययोजना अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
आवेदनका लागि आवश्यक कागजातहरूको विस्तृत विवरण सिफारिस समितिको सचिवालय वा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइटमार्फत प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।