विधान संशोधन नगरी नै नेतृत्व चयन गर्ने एमालेको निर्णय
काठमाडौं, २३ मंसिर । नेकपा एमालेले आसन्न नेतृत्व चयन प्रक्रियामा विधान संशोधन नगर्ने निर्णय गरेको छ। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानकै आधारमा नयाँ नेतृत्व छनोट गर्ने निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार पार्टीको संरचना– २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी समूहको आधारमा नै नेतृत्व निर्माण गरिनेछ। ज्ञवालीले पछिल्ला दिनमा एमालेले विधान संशोधन गर्नसक्ने भन्ने समाचार सार्वजनिक भए तापनि त्यसमा कुनै तथ्य नभएको स्पष्ट पारे।
“दोस्रो विधान महाधिवेशनको निर्णयअनुसार नै एमालेले नयाँ नेतृत्व चयन गर्छ,” उनले भने, “विधान संशोधनबारे आएका चर्चा वास्तविक होइनन्।”
एमालेले महाधिवेशन तयारीलाई तीव्र बनाइरहेका बेला विधान संशोधन नहुने स्पष्टसँगै नेतृत्व चयनको प्रक्रियामा एकरूपता कायम हुने अपेक्षा गरिएको छ।