एमाले महाधिवेशन : १० हजार स्वयंसेवकसहित उद्घाटन तयारी तीव्र
२३ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनलाई लक्षित गर्दै करिब १० हजार स्वयंसेवकलाई विशेष तालिम प्रदान गर्ने कार्य तीव्र रूपमा जारी छ। स्वयंसेवक व्यवस्थापनका लागि विशेष ओरिएन्टेसन दिइरहेको जानकारी एमाले नेतृ सुनिता बरालले दिइन्। मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्लाचौरमा महाधिवेशनको उद्घाटन हुनेछ भने बन्दसत्र काठमाडौंचै भृकुटीमण्डपमा सञ्चालन हुनेछ। उक्त स्थलमा करिब दुई लाख जनसहभागिताको क्षमता रहेको र आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवकहरू सक्रिय रूपमा खटिएको बताइएको छ।
महाधिवेशनमा दुई हजार चार सय प्रतिनिधिहरू सहभागी हुनेछन् भने २४ जनसंगठन तथा विभिन्न कमिटीमार्फत १० हजार स्वयंसेवक परिचालन हुनेछ। राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) पनि स्वयंसेवा कार्यमा संलग्न हुनेछ। यातायात व्यवस्थापनअन्तर्गत पूर्वबाट आउने सवारी साधनलाई जगाती क्षेत्र र पश्चिमबाट आउने सवारीलाई गठ्ठाघर–क्यामेरोटार क्षेत्रमा व्यवस्थापन गरिनेछ। उद्घाटन सत्रमा लाखौँको सहभागिता हुने अनुमान गरिँदै दिउँसो ठीक १ बजे कार्यक्रम सुरु हुने तयारी गरिएको छ। मञ्च तथा हल व्यवस्थापन अन्तिम चरणमा पुगेको र भृकुटीमण्डपमा निर्वाचन प्रक्रियालाई सहज बनाउने खालको बन्दसत्र हल निर्माण भइरहेको एमालेले जनाएको छ।