समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय नजिकिँदै, समावेशी कोटामा हेरफेर
६ पुस, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने समय आउन अब एक साता मात्र बाँकी छ । यहीबीच समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य परिवर्तन गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २१ गतेदेखि सुरु भइसकेको छ । निर्वाचन कार्यक्रमअनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिएका थिए । तोकिएको अवधिमा एक सय राजनीतिक दलले निवेदन पेस गरेका छन् ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दलहरूले यही पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्न पाउनेछन् । बन्दसूची पेस गर्दा समावेशी कोटाअनुसार उम्मेदवार समेट्नुपर्ने प्रावधान छ ।
यसअघि २०७९ सालको निर्वाचनमा २०६८ सालको जनगणनाका आधारमा समावेशी कोटा निर्धारण गरिएको थियो । तर यसपटक २०७८ सालको जनगणनाअनुसार कोटा निर्धारण गरिएको छ । यसका लागि सरकारले अध्यादेशमार्फत निर्वाचन ऐन संशोधन गरेको हो ।
राष्ट्रपतिबाट गत शुक्रबार जारी भएको अध्यादेशअनुसार अब राजनीतिक दलहरूले २०७८ सालको जनगणनाअनुसार समानुपातिक समावेशी कोटा मिलाएर उम्मेदवारको बन्दसूची बुझाउनुपर्नेछ ।
प्रतिनिधि सभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने व्यवस्था छ । समानुपातिकतर्फका ११० सिटका लागि बन्दसूची पेस गर्दा संशोधित ऐनअनुसार खस आर्य ३३, आदिवासी जनजाति ३२, मधेशी १८, दलित १५, थारू ७ र मुस्लिम समुदायबाट ५ जनाको नाम समावेश गर्नुपर्नेछ । साथै, कुल उम्मेदवारमध्ये कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको प्रारम्भिक उम्मेदवार सूची आगामी माघ ४ गते सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ । प्रारम्भिक सूचीमाथि परेका दाबी–विरोध र उजुरीको छानबिनपछि माघ २७ गते अन्तिम सूची प्रकाशन गरिनेछ ।
विद्यमान कानुनअनुसार प्रतिनिधि सभाका कुल २७५ सदस्य प्रत्यक्ष र समानुपातिक गरी दुई निर्वाचन प्रणालीबाट चयन हुनेछन् । प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन आगामी माघ ६ गते हुने कार्यतालिका छ ।