देशभरका ५८% किसान विद्युतीय प्रणालीमा सूचीकृत
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा उपलब्ध गराउने उद्देश्यले करिब ५८ प्रतिशत किसानलाई सूचीकृत गरेको छ।
कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजार किसानमध्ये हालसम्म २३ लाख ८३ हजार किसान सूचीबद्ध भएका छन्। सूचीकरण जमिन र खेती उत्पादनको आधारमा गरिएको हो।
केन्द्रले सबै किसान सूचीबद्ध भएपछि उनीहरूलाई निर्वाहमुखी, साना, मझौला र ठूला किसान गरी वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात् किसानलाई परिचयपत्र वितरण गरी विद्युतीय सूचना प्रणालीमा जोड्ने, अनुदान, रासायनिक मल, बीउ, सेवा व्यवस्थापन लगायतका सुविधा उपलब्ध गराउने योजना छ।
केन्द्रका अधिकृत सञ्जीव पण्डितका अनुसार स्थानीय तहसँग समन्वय गरेर किसानको नाम दर्ता, जमिनको क्षेत्रफल र उत्पादन विवरणसहित तथ्याङ्क सङ्कलन भइरहेको छ। यस कार्यक्रम मार्फत कर्मचारी र सरोकारवालाहरूलाई कृषि सशक्तीकरण सम्बन्धी तालिमसमेत प्रदान गरिँदैछ।