मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई नयाँ मन्त्री नियुक्त
जनकपुरधाम, २९ मंसिर
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। सोमबार बिहान बसेको सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा दुई जना नयाँ मन्त्री नियुक्त भएका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्रीमा नियुक्त भएकी छन् भने नेकपा (माओवादी केन्द्र) बाट जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनेका छन्।
नियुक्त भएका दुवै मन्त्रीले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
यसैगरी, गत २१ मंसिरमा बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका नेपाली कांग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा (एकीकृत समाजवादी) का कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
जनमत पार्टीका महेशप्रसाद यादवले यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।
यससँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ। हाल सरकारमा नेपाली कांग्रेसबाट मुख्यमन्त्रीसहित एक मन्त्री, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोसपा र नेकपा (माओवादी केन्द्र) बाट एक–एक जना मन्त्री सहभागी छन्।
जनता समाजवादी पार्टी (जसपा) बाट भने अहिलेसम्म सरकारमा सहभागिता भएको छैन।
गत मंसिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री यादवले आगामी पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम रहेको छ।