धुलिखेल–खावा सडकस्तरोन्नति तीव्र, नयाँ कम्पनीसँग सम्झौतापछि कामले गति पकड्यो
काभ्रेपलाञ्चोक — अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिको काम पुनः तीव्र गतिमा अघि बढाइएको छ। लामो समयदेखि रोकिएको विस्तारकार्यका लागि गत कात्तिकमा नयाँ निर्माण कम्पनीसँग सम्झौता भएपछि पुनःस्तरोन्नतिको काम सुरु गरिएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सि–एन ए–वान काली जेभीसँग १४ महिनाभित्र काम सम्पन्न गर्ने गरी भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको छ। कार्यालयका प्रमुख सुमन योगेशले पहिलो चरणमा आगामी चैतसम्म फराकिलो स्थानमा कालोपत्रे सकिने र बाँकी काम तोकिएको समयमा पूरा गरिने बताए। अहिले विभिन्न स्थानमा ‘कटिङ’ कामसँगै निर्माण तीव्र भएको छ।
निर्माण ढिलाइले तीन वर्षदेखि धुलिखेल–खावा सडकखण्डमा यात्रा कष्टकर बनेको थियो। पुरानो ठेक्का रद्द भएको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरिएको थियो। चार किलोमिटर लामो सडक नयाँ कम्पनीले समयमै सक्ने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।
यसअघि गौरी–पार्वती निर्माण सेवा कम्पनीसँग सम्झौताअनुरूप काम अघि नबढेकाले कार्यालयले गत फागुन १५ गते ठेक्का रद्द गरेको थियो। २२ महिनाभित्र काम सक्ने गरी रु २० करोड १९ लाखमा लिएको ठेक्कामा कम्पनीले २५ प्रतिशतसमेत काम पुरा गर्न नसकेको कार्यालयले बताएको थियो।
धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म ‘कटिङ’, केही स्थानमा नाली तथा ड्रेन-वाल निर्माण भए पनि खावा क्षेत्रतर्फ अझै करिब एक किलोमिटर भागमा कटिङ बाँकी छ। बारम्बारको बर्खापछिको क्षतिका कारण सडक जीर्ण बन्दै आएको थियो, जसले ट्राफिक जाम, धुलो–हिलो र दुर्घटनाको जोखिम बढाएको छ।
सिन्धुपाल्चोकको तातोपानी नाका, दोलखा, रामेछापलगायत क्षेत्रतर्फ जाने मुख्य मार्गसमेत भएकाले धुलिखेल–खावा सडक महत्वपूर्ण मानिन्छ। अत्यधिक भारबहन गर्ने मालवाहक सवारीलाई लक्षित गरी यो सडक १२ मिटर चौडाइमा बलियो संरचनासहित बनाइनेछ। पहिलोपटक ग्राभेलमाथि २० से.मि. बाक्लो सिमेन्ट बेस, त्यसपछि डिबिएम र आस्फाल्ट लेयर गरेर कालोपत्रे गरिने कार्यालयले जनाएको छ।