मौद्रिक नीतिको त्रैमासिक समीक्षा : ब्याजदर घट्यो, कर्जाको सीमा बढ्यो
काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको र व्यक्तिगत कर्जाको सीमा बढाएको छ।
समीक्षामार्फत केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति अवलम्बन गर्ने संकेत गर्दै स्थायी तरलता सुविधा (SLF) दर ६.०० प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत पूर्याएको छ। त्यस्तै नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ प्रतिशतमा झारिएको छ। निक्षेप सङ्कलन दर भने २.७५ प्रतिशतमै यथावत् राखिएको छ।
बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँसम्म पुर्याउन सक्ने व्यवस्था गरेको छ।
त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपभन्दा अनिवार्य रूपमा कम्तीमा १ प्रतिशत बिन्दुले कम राख्नुपर्ने बाध्यात्मक प्रावधान राष्ट्र बैंकले खारेज गरेको छ।
नयाँ समीक्षा अनुसार बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन र कर्जा प्रवाह दुवैमा केही सहजता आउने अपेक्षा गरिएको छ।