एमाले जति प्रहार सहेर पनि सतिसालझैँ ठिङ्ग उभिन्छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जति धेरै प्रहार सहनु परे पनि आफ्नो पार्टी सतिसालझैँ ठिङ्ग उभिरहने दाबी गरेका छन्।
भक्तपुरको सल्लाघारीमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्यतामा पुर्याएर देशलाई असक्षम बनाउने सुनियोजित षड्यन्त्र भएको आरोप लगाए।
उनले एमालेको राजनीति देशका लागि मात्र नभई विश्व शान्ति, समानता र मानव अधिकारको पक्षमा रहेको उल्लेख गरे।
‘हामी देशको स्वाधीनता र अधिकारको कुरा गर्छौँ, त्यो कतिलाई मन पर्दैन र हामीमाथि प्रहार हुन्छ,’ ओलीले भने, ‘एमाले जति धेरै प्रहार सहेर पनि सतिसालजस्तो ठिङ्ग उभिरहन्छ।’
अध्यक्ष ओलीले देश र जनताप्रतिको निष्ठा, विकास र सुशासनप्रतिको सङ्कल्प तथा प्रतिबद्धताको जवाफ सल्लाघारी मैदानमा उपस्थित जनसागरले दिइरहेको बताए।
जेन–जी आन्दोलनमा घुसपैठ र हिंसात्मक तत्त्व सक्रिय भएका कारण दुःखद तथा अकल्पनीय अवस्था सिर्जना भएको उनको भनाइ थियो। उनले गोली लागेका तथा अराजक भीडको आक्रमणमा परेका सर्वसाधारण र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरे।
उनले भदौ २३ गते शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन गृहमन्त्रीले सोही दिन राजीनामा दिएको र मन्त्रिपरिषद्को बैठकबाट पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरिएको स्मरण गराए।
त्यसबेला सरकार असामान्य परिस्थितिप्रति गम्भीर र संवेदनशील भए पनि राज्यविरुद्ध आक्रमण गर्न खोज्ने तत्त्वका लागि ती कदम पर्याप्त नभएको अध्यक्ष ओलीको जिकिर थियो।
‘उनीहरूलाई त देश दोहन गर्ने अगुल्टो चाहिएको थियो,’ उनले भने, ‘परिणामस्वरूप भदौ २४ को भयानक दिन देशले भोग्नुपर्यो।’