सुदूरपश्चिम प्रदेशसभामा जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयक टेबुल
१६ पुस, सुदूरपश्चिम।
सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकमा ‘सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरिएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले उक्त विधेयक प्रदेशसभामा प्रस्तुत गरेका हुन्। बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले महालेखा परीक्षकको पहिलो वार्षिक प्रतिवेदन २०७५, छैठौँ वार्षिक प्रतिवेदन २०८१, सातौँ वार्षिक प्रतिवेदन २०८२, प्रदेश लोकसेवा आयोगको चौथो वार्षिक प्रतिवेदन तथा मुख्य न्यायधिवक्ताको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे।
त्यसैगरी, प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति अक्कलबहादुर रावलले समितिको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका छन्। बैठकमा सभामुख भीमबहादुर भण्डारीले महालेखा परीक्षकका पहिलो, छैठौँ र सातौँ प्रतिवेदन अध्ययन तथा छलफलका लागि सार्वजनिक लेखा समितिमा र प्रदेश लोकसेवा आयोग तथा मुख्य न्यायधिवक्ताको प्रतिवेदन विधायन तथा प्रदेश मामिला समितिमा पठाइने जानकारी गराए।
बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरू गीतादेवी माल, डम्मरी महरा, मानबहादुर धामी, रामेश्वर चौधरी, लक्ष्मी विक, शिवसिंह ओली र नरेशकुमार शाहीले विभिन्न समसामयिक समस्यामा सरकारको ध्यानाकर्षण गराएका थिए।
जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेशसभा भवनको मर्मत सम्पन्न भएपछि आजबाट बैठक पुनः सुचारु भएको हो। प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो।