मोडेल एलिजा गौतम आजपा प्रवेश, समाजसेवा अघि बढाउने लक्ष्य
काठमाडौँ – मोडेल एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन्। बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतमलाई पार्टी प्रवेश गराइएको हो।
आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले गौतमलाई टीका र माला लगाई स्वागत गरे। प्रवेश गर्दै गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउन आजपामा प्रवेश गरेको बताइन्। उनले पार्टीले उठाउँदै आएको मुद्दा, नीति र विचार नेपाली जनताको हितमा भएको उल्लेख गर्दै समाजको सेवा अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिन्।
पछिल्लो समय विभिन्न पार्टी छाडेर आजपामा प्रवेश गर्नेको लहर चलेको छ। यसै क्रममा नेपाली कांग्रेस निकट जनजाति महासङ्घका अध्यक्ष तेजबहादुर कुम्हाल, सर्लाहीका नेता एवं पूर्व मुखिया रामबाबु साह, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य ललिता चौधरी लगायतका नेताहरू पनि आजपामा प्रवेश गरेका छन्।
आजपा केन्द्रीय कमिटीको बैठकमा आगामी निर्वाचनको रणनीति, उम्मेदवार छनोट मापदण्ड लगायतका एजेन्डाहरूमा छलफल भइरहेको छ।