नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा, काठमाडौंमा विशेष समारोह
काठमाडौं
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदै गरेको अवसरमा शनिबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
याक एण्ड यती होटलमा सम्पन्न कार्यक्रममा दुई देशबीच सात दशकयता कायम सुमधुर सम्बन्धका महत्वपूर्ण क्षणहरू स्मरण गरिएको थियो। नेपाल–चीनबीच वि.सं. २०१२ साउन १९ गते (सन् १९५५ अगस्ट ३) औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
यस अवसरमा चिनियाँ दूतावासले विशेष समारोह आयोजना गरेको हो। तत्कालीन राजदूत छन सोङ कार्यकाल सकेर फर्किएपछि जिम्मेवारी सम्हाल्न आएका कार्यवाहक राजदूत (चार्ज डे अफेयर्स) चौ पानको निमन्त्रणामा कार्यक्रम आयोजना गरिएको थियो।
समारोहमा उपसभामुख इन्दिरा राना मगर, संघीय सरकारका मन्त्रीहरू, संवैधानिक अङ्गका पदाधिकारी तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो। साथै कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नेपालमा कार्यरत चिनियाँ नागरिकहरू सहभागी थिए।
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा नेपाल–चाइना मिडिया फोरमले साढे तीन सय पृष्ठको पुस्तक प्रकाशन गरेको छ, जसमा दुई देशबीचको सम्बन्धका विविध आयामबारे चर्चा गरिएको छ।
यसै अवसरमा चिनियाँ दूतावासको सहयोगमा नेपाली पर्यटन व्यवसायी र सञ्चारकर्मीका लागि चिनियाँ भाषा तालिम सञ्चालन भइरहेको छ। साथै हिमालय क्षेत्रको सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले ‘विश्व अमूर्त सांस्कृतिक धरोहर’ प्रदर्शनी तथा सिजाङ सांस्कृतिक सप्ताह कार्यक्रम सम्पन्न भइसकेका छन्।
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा वर्षभर सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि तथा कूटनीतिक स्वागत समारोहहरू आयोजना भइरहेका छन्।