मुख्यमन्त्री कार्कीले जेनजी आन्दोलन र सुरक्षा आयोगमाथि उठाए गम्भीर प्रश्न
विराटनगर, १६ पुस – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको वर्तमान सुरक्षा अवस्था र जेनजी आन्दोलनका विषयमा सरकारले गठन गरेको छानबिन आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन्।
बुधबार बिहान विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न ढिलो पुगेका मुख्यमन्त्री कार्कीले जेनजी आन्दोलनमा सुरक्षा निकायको भूमिका र त्यसपछिको सरकारको निर्णयप्रति असन्तोष व्यक्त गरे। गोष्ठीमा १४ जिल्लाका सुरक्षा निकायका प्रतिनिधि र केन्द्रीय सुरक्षा नेतृत्व उपस्थित थिए।
उनले सुरक्षा निकायको पूर्वसूचना प्रणाली असफल भएको र आन्दोलनपछि गठन भएको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग ‘पूर्वाग्रही’ भएको आरोप लगाए। “सुरक्षाकर्मी हुँदाहुँदै पनि मेचीदेखि महाकालीसम्म एउटै प्रकारका घटना घट्नु हाम्रो तयारी शून्य भएको प्रमाण हो,” उनले भने।
मुख्यमन्त्री कार्कीले आयोगका अध्यक्ष स्वयं विवादित भूमिकामा रहेको र त्यसबाट निष्पक्षता अपेक्षा गर्न नसकिने दाबी गरे। उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग आफ्नो व्यक्तिगत अनुभव स्मरण गर्दै सरकारप्रति आक्रोश व्यक्त गरे।
सुरक्षा चुनौती र निर्वाचनसम्बन्धी चिन्ताप्रति मुख्यमन्त्री कार्कीले जेल तोडेर भागेका करिब ४ हजार कैदीबन्दी र लुटिएका हतियार तथा गोलीगठ्ठाको तथ्य प्रस्तुत गर्दै निर्वाचन सुरक्षित रूपमा सञ्चालन गर्न चुनौतीपूर्ण भएको बताए।
“चुनावको नाममा मुलुकलाई मुठभेडमा लैजानु ठीक हुँदैन। प्रहरीको मनोबल उच्च बनाएर चुनावमा जान सकिन्छ भन्ने कुरा सम्भव छैन,” उनले भने। उनले सरकारलाई संवेदनशील र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए।