कात्तिकमा रेमिट्यान्स आप्रवाह घट्यो, चार महिनामा भने ३१.४ प्रतिशत वृद्धि
२९ मंसिर, काठमाडौं— चालु आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा रेमिट्यान्स आप्रवाह घटेको छ। असोजको तुलनामा कात्तिकमा रेमिट्यान्स ६४ अर्ब रुपैयाँले कमी आएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार २०८२ कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जबकि असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल आएको थियो।
यद्यपि, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले मात्र वृद्धि भएको थियो। गत आवको कात्तिक महिनामा रेमिट्यान्स १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो।
डलरमा हेर्दा चालु आवको चार महिनामा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेर ४ अर्ब ८८ करोड अमेरिकी डलर पुगेको छ। गत आवको सोही अवधिमा यस्तो वृद्धि ८.२ प्रतिशत मात्र रहेको थियो।
राष्ट्र बैंकका अनुसार चालु आवको कात्तिकसम्म खुद द्वितीय आय ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ थियो।
यसैबीच, चालु आवको कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ४५ हजार ९ सय ७३ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८ सय ३७ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ४७ हजार ४ सय ७८ र ९४ हजार १०५ थियो।