१४ वर्षपछि पनि निर्माण नहुँदा कमला पुल अझै अधुरो, अस्थायी आवतजावत व्यवस्था
सिराहा – ठेक्का सम्झौता भएको करिब १४ वर्ष बित्दासमेत सिराहा र धनुषा जोड्ने र सिराहाको सीमानामा पर्ने कमला नदीमा निर्माणाधीन कमला पुल अझै अधुरो छ।
पुलको निर्माण व्यवसायीले आगामी चैतभित्र निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिका बनाएर काम अघि बढाइरहेको जनाइएको छ। ठेक्का सम्झौता मोडलअनुसार निर्माण व्यवसायीले नै पुलको डिजाइन गर्दै निर्माण गरिरहेको कमला पुलको कुल लम्बाइ ४६९ मिटर रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मंसिरमा स्थलगत अनुगमन गर्दै पुल निर्माण तत्काल अघि बढाउन र जतिसक्दो छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए। उनले निर्माण नियमित अनुगमन गर्ने र काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनी समेत दिएका छन्।
हाल, नदी क्षेत्रमा अस्थायी आवतजावतको लागि ह्युम पाइप राखेर सवारी साधन सञ्चालन गर्न पनि ठेक्का व्यवस्थापन भई काम भइरहेको छ।
पुल नबन्दा स्थानीय नागरिकलाई लामो रुट प्रयोग गरी यात्रा गर्नुपर्ने, कमला नदी पार गर्दा जोखिमपूर्ण र कष्ठकर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।