भदौ २३–२४ को घटनाबारे जाँचबुझ आयोगद्वारा रमेश लेखकलाई बयानका लागि बोलाइयो
काठमाडौं — भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ। आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार उपस्थित भई बयान दिन आग्रह गरेको आयोगका एक पदाधिकारीले जानकारी दिए।
आयोगका अनुसार उक्त आन्दोलनको समयमा जिम्मेवारीमा रहेका तत्कालीन प्रशासनिक तथा प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान लिने प्रक्रिया सकिएपछि राजनीतिक नेतृत्वसँग बयान लिने चरण सुरु गरिएको हो।
आयोगले लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ। यसका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै पत्राचार गर्ने तयारी भइरहेको आयोग स्रोतले जनाएको छ।
भदौ २३ र २४ गतेका घटनामा भएका गतिविधि, निर्णय प्रक्रिया तथा जिम्मेवारीको मूल्यांकन गर्न आयोगले चरणबद्ध रूपमा सरोकारवाला पक्षसँग बयान लिँदै आएको छ।