डडेलधुरामा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
डडेलधुरा — डडेलधुरा जिल्लाको रामपुर क्षेत्रमा अटो र जिप एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
शुक्रबार राति करिब ८ः३० बजेतिर आलिताल गाउँपालिका–४ जाल्टुडामा म १ च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी परशुराम नगरपालिका–१० जोजालाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
यस्तै दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन्। उनलाई जोगबुडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।
उक्त अटोमा चालकसहित तीन जना सवार रहेको र दुर्घटनापछि अटो चालक गोपाल मगर फरार रहेको प्रहरीले जनाएको छ। जिप चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। जिपमा सवार तीनै जना भने सकुशल रहेको बताइएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।