बालेन–रवि वार्ता अवरुद्ध, समानुपातिक हिस्सेदारीमा सहमति जुट्न सकेन
काठमाडौं, १२ पुसकाठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच निरन्तर भइरहेको राजनीतिक एकताको वार्ता अवरुद्ध बनेको छ।
बिहीबार र शुक्रबार लगातार छलफलमा रहेका उनीहरूबीच ऊर्जामन्त्री कुलमान घिसिङलाई समेत समेटेर सहकार्य अघि बढाउने विषयमा संवाद भइरहेको थियो। शनिबार निर्णायक वार्ता हुने अपेक्षा गरिए पनि प्रत्यक्ष भेटघाट हुन नसकी टेलिफोन संवादमै सीमित भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार समानुपातिक उम्मेदवारको हिस्सेदारी मुख्य विवादको विषय बनेको छ। रवि लामिछानेले रास्वपामा पहिलेदेखि नै आकांक्षी धेरै भएकाले ६०–४० वा ७०–३० को अनुपातमा सूची तयार गर्नुपर्ने प्रस्ताव राखेका छन्। तर, बालेन शाहले आफू, कुलमान घिसिङ र जेनजी समूहसहित ५० प्रतिशत र रास्वपाबाट ५० प्रतिशत बराबरी सहभागिता हुनुपर्ने अडान लिएका छन्।
रविले प्रधानमन्त्रीको नेतृत्व र वरियताको विषय उठाउँदै तत्काल एकता गर्न लचिलो हुन आग्रह गरे पनि बालेनले कुलमान र जेनजीलाई छुटाएर अघि बढ्न नसकिने स्पष्ट पारेको स्रोतको दाबी छ।
एकता प्रक्रिया अघि नबढेमा वैकल्पिक तयारी पनि गरिएको बालेन निकट स्रोतले जनाएको छ। बालेनको सल्लाहमा ‘देश विकास पार्टी’ निर्वाचन आयोगमा दर्ता भइसकेको र सोही पार्टीमार्फत समानुपातिक सूची बुझाउने तयारीसमेत गरिएको बताइएको छ।
यता, कुलमान घिसिङ नेतृत्वको पार्टीको केन्द्रीय समिति बैठकले पनि रास्वपाको प्रस्तावमा आपत्ति जनाएको छ। पार्टीका नेताहरूले पार्टीको नाम, नेतृत्व र चुनाव चिन्ह नै त्यागेर एकतामा जान नसकिने बताएका छन्।
बालेन शाहका स्वकीय सचिव भूपदेश शाहले भने परस्पर सम्मान र समान सहभागिताको आधारमा वार्ता अघि बढाउनुपर्ने बताएका छन्। उनका अनुसार वार्तालाई तार्किक निष्कर्षमा पुर्याउन छलफल अझै जारी छ।