समानुपातिकतर्फ ६४ मध्ये २२ दलले मात्रै ११० स्थानमा बन्दसूची पेस
काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै सबै ११० स्थानमा उम्मेदवारी दिएका छन्।
निर्वाचन आयोगमा पुस १३ र १४ गते पेस गरिएको बन्दसूचीअनुसार कूल ६४ दलले सूची बुझाए पनि २२ दलले मात्रै समानुपातिक प्रणालीअन्तर्गतको सम्पूर्ण ११० स्थानमा उम्मेदवारी दिएका हुन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ५८ दलले ५८ वटा निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन्।
सबै ११० स्थानमा बन्दसूची पेस गर्ने दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), श्रम संस्कृति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, मितेरी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेपाली जनता दल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र प्रगतिशील लोकतान्त्रिक पार्टी रहेका छन्।
आयोगका अनुसार केही दलहरूले साझा निर्वाचन चिह्न कायम गर्दै संयुक्त रूपमा सूची पेस गरेका छन्। प्राप्त विवरणअनुसार औसत रूपमा प्रति निर्वाचन चिह्न ६० जना उम्मेदवार रहेका छन् भने न्यूनतम ११ स्थानमा मात्रै बन्दसूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ। एकल निर्वाचन चिह्न प्रयोग गर्ने दल पनि १० रहेका छन्।
यस निर्वाचनमा दलहरूले राष्ट्रिय जनगणना २०७८ अनुसार समावेशी समूह—दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम—को जनसङ्ख्या प्रतिशतका आधारमा उम्मेदवारी दिएका छन्। कतिपय दलबीच एकता र सहकार्यको सहमति भएकाले बन्दसूची बुझाउने प्रक्रिया राति अबेरसम्म चलेको थियो।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीमा उम्मेदवारी दिन ९३ राजनीतिक दलले आवेदन दिए पनि अन्ततः ६४ दलले मात्रै बन्दसूची पेस गरेका छन्। प्राप्त सूचीमाथि पुस १५ देखि छानबिन प्रक्रिया सुरु भई पुस २० गतेसम्म सम्पन्न गरिनेछ। सच्याउनुपर्ने वा अपुग विवरण भए पुस २१ देखि २७ गतेसम्म मिलाउन समय दिइनेछ। पुस २८ देखि माघ ३ गतेसम्म संशोधित सूचीको पुनः जाँच गरिने र माघ २० गते अन्तिम सूची प्रकाशन हुने आयोगले जनाएको छ।
यसैबीच पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ। सोही दिन उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ। माघ ७ गते उजुरी दिने समय तोकिएको छ भने माघ ८ गते उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ। माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम नामावलीसहित निर्वाचन चिह्न प्रदान गरिनेछ।
उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएसँगै निर्वाचन आयोगले करिब चार करोड थान मतपत्र छपाइको तयारी अघि बढाएको छ। आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त, उच्च अधिकारी तथा सम्बन्धित शाखाका कर्मचारीबीच आज भएको बैठकमा मतपत्रको सम्भावित ढाँचा, आकार र डिजाइनबारे परामर्श गरिएको आयोगले जनाएको छ।