पनौतीमा रोडा ढुंगा उद्योगमा पहिरो, एकको मृत्यु, एक घाइते
काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडा ढुंगा उद्योगमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
रोडा ढुंगा उद्योगमा एक्स्काभेटरले खन्ने क्रममा अचानक पहिरो जाँदा काभ्रेको खानीखोला गाउँपालिका–२ घर भई हाल पनौती नगरपालिका–९ मा बस्दै आएका ३४ वर्षीय डोजर अपरेटर रामबहादुर तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए।
पहिरोमा परेर पनौती नगरपालिका–१२ का ३५ वर्षीय ईश्वर गुरुङ घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले आवश्यक मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।