वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१० बस्ने तनहुँ भिमाद गाउँपालिका–५ घर भएका ३२ वर्षीय रोविन जि.आर. र काठमाडौं महानगरपालिका–७ बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–६ घर भएकी ४८ वर्षीया गीता माया मगर रहेका छन्।
प्रहरीका अनुसार रोविनले पोर्चुगल पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख १० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो। यस्तै, गीता मायाले रोमानिया पठाइदिने भन्दै दुई जना पीडितबाट ८ लाख ४० हजार रुपैयाँ असुली गरेको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रोविनलाई काठमाडौं महानगरपालिका–१४ बाट र गीता मायालाई काठमाडौं महानगरपालिका–७ बाट आइतबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।