लघुवित्तको धितो कर्जा सीमा बढाइयो, भुक्तानी तालिका परिमार्जन गर्न सकिने
काठमाडौँ — नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूले धितोमा प्रवाह गर्न सक्ने कर्जाको अधिकतम सीमा बढाएको छ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अनुसार अब लघुवित्तले धितोमा अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा दिन सक्ने व्यवस्था गरिएको छ। यसअघि लघुवित्तले अधिकतम ७ लाख रुपैयाँ मात्र धितो कर्जा दिन पाउने व्यवस्था थियो।
त्यस्तै, ऋणीको कर्जा भुक्तानीमा समस्या देखिएका कारण राष्ट्र बैंकले लघुवित्तहरूलाई कर्जा भुक्तानीको तालिका परिमार्जन गर्ने सुविधा पनि प्रदान गरेको छ।
राष्ट्र बैंकले भनेको छ कि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा तरलता उपलब्ध भए पनि कर्जा प्रवाह कम भएको अवस्था देखिएकाले लघुवित्तको कर्जा सीमा बढाइ कर्जा प्रवाहलाई बढावा दिन यो कदम चालिएको हो।