पहिलो त्रैमासमा १९६ उद्योग दर्ता, ७० अर्ब लगानी प्रतिबद्ध
काठमाडौँ – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उद्योग विभागमा १९६ उद्योग दर्ता भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यी उद्योगमा ७० अर्ब २२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता गरिएको छ भने १२ हजार १६२ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।
दर्ता उद्योगमध्ये ठूला र मझौला उद्योग संख्या १६/१६ रहेको छ भने साना उद्योग १६४ रहेका छन्।
सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानीका ३१२ आयोजना/उद्योग स्वीकृत भएका छन्, जसमध्ये १९८ उद्योग स्वचालित मार्गबाट स्वीकृत भएका हुन्। यी परियोजनामा ३५ अर्ब १६ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता र १५ हजार ७ सय ५१ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
उद्योग विभागले पहिलो त्रैमासमा ४३ ट्रेडमार्क सम्बन्धी मुद्दा टुंगो लगाएको, भारतमा रियायती निर्यातका लागि १९ सर्टिफिकेट अफ ओरिजिन सिफारिस गरेको र २४ उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न गरेको जानकारी दिएको छ।
मन्त्रालयले यस अवधिमा नीतिगत सुधार र कार्यविधिगत सरलीकरणमार्फत औद्योगिक लगानी वातावरण सुधार, व्यापार सहजीकरण र सेवा प्रवाहमा सुधारको अपेक्षा गरेको जनाएको छ। साथै, उद्योग, लगानी र व्यापार प्रवर्द्धनका लागि चालु आर्थिक वर्षको बजेट कार्यान्वयन पनि थालिएको छ।