पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले नेताहरूलाई नेकपामा आउन आग्रह गरे
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा एकजुट भएर आउन आग्रह गरेका छन्।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सन्देश सभामा सम्बोधन गर्दै खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको बताए। उनले भने, “एमालेका साथीहरू, तपाईँहरूको बाटो पनि यही हो। अर्को बाटो छैन। तपाईँहरू पनि एकताबद्ध हुनुहोस्, कमरेडहरू। हामी एउटै कम्युनिस्ट पार्टी निर्माण गरौँ। एउटा देशमा हजार वटा सर्वहारा श्रमिक वर्गको पार्टी हुँदैनन्।”
खनालले विगतमा विभिन्न राजनीतिक फुर्का भए पनि अबको मार्गदर्शन माक्सवाद र लेनिनबाद नै रहेको बताए। “यो पार्टीको विशेषता भनेको नेपाली विशेषताको समाजवाद हो। हामी सबै एकताबद्ध भएर अगाडि बढ्ने संकल्प गरौँ,” उनले जोड दिए।
उनले आगामी महाधिवेशनमा सहभागी साथीहरूलाई मूल प्रवाहमा आउन आग्रह गर्दै नेपालका कम्युनिस्ट पार्टीहरू राष्ट्रिय स्तरमै एकजुट भएर अपराजित शक्ति बन्नुपर्नेमा जोड दिए। “अब टुटेर, फुटेर होइन। एकजुट भएर निश्चित नीति, कार्यदिशा र मापदण्डका आधारमा हामी एक हुनु पर्छ,” उनले भने।
खनालले मुलुकमा विदेशी हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको पनि औँल्याए। जनताले गाँस, बास, कपास र शिक्षाको सहज पहुँच पाउने नेपाल निर्माण गर्न समाजवाद अपरिहार्य रहेको उनको तर्क छ।