एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाउँदै पदाधिकारी संख्या संशोधन गर्यो
काठमाडौं – नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गर्दै पदाधिकारी संरचना संशोधन गरेको छ। दसौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, संशोधित विधानअनुसार अब अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ हुने गरी १९ जना पदाधिकारी बनाइने प्रस्ताव बन्दसत्रको हलमा प्रस्तुत गरिनेछ।
गत भदौमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या १५ जना बनाएको थियो। तर आइतबार बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउँदै विधान संशोधन गरेको हो।
त्यस्तै, पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटी बनाइने निर्णय भएको छ। पोलिटब्युरो ९९ सदस्यीय रहनेछ भने केन्द्रीय कमिटी २५१ सदस्यबाट बढाएर ३०१ सदस्य बनाइएको छ।