माधवकुमार नेपाल: निर्वाचनका लागि सरकार–दलबीच घनिष्ट संवाद आवश्यक
सिन्धुली — नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार र राजनीतिक दलहरूबीच घनिष्ट तथा गहन संवाद आवश्यक रहेको बताएका छन्।
आज बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले आफूहरू निर्वाचनको पक्षमा रहे पनि सरकार र राजनीतिक दलबीच पर्याप्त संवाद हुन नसकेको गुनासो गरे। उनले वर्तमान अवस्थालाई उल्लेख गर्दै भने, “सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने र निर्वाचनको वातावरण बिथोलेको छ भन्न पनि नमिल्ने अवस्था छ।”
नेता नेपालका अनुसार पार्टीहरू चुनावको तयारीमा जुटिरहेका भए पनि सरकार र दलहरूबीचको संवाद कमजोर रहेको छ। यसले निर्वाचनको अन्योल बढाएको उनको टिप्पणी थियो।
जेन–जी आन्दोलनपछि नेपालमा राजनीतिक दलहरूको समर्थनमा जनता छैनन् भन्ने गलत भाष्य निर्माण गरिएको उल्लेख गर्दै उनले पछिल्ला राजनीतिक दलहरूले आयोजना गरेका कार्यक्रमहरूले त्यसलाई पुष्टि नगरेको बताए। नेपाली जनता सधैं राजनीतिक आस्थामा रहेको र लोकतान्त्रिक प्रक्रियाप्रति विश्वास राख्दै आएको उनको भनाइ थियो।
निर्वाचन लोकतन्त्रको अनिवार्य प्रक्रिया भएको उल्लेख गर्दै नेता नेपालले चुनाव सुनिश्चित गर्न सरकारले सबै राजनीतिक दलहरूसँग समयमै संवाद गर्नुपर्ने आवश्यकता औंल्याए। वर्तमान परिस्थितिमा “देश चुनावतर्फ जान्छ कि जाँदैन ?” भन्ने प्रश्न खडा भएको भन्दै उनले स्पष्ट राजनीतिक सहमति अपरिहार्य रहेको बताए।