कांग्रेस बैठक निष्कर्षविहीन, २१ फागुन निर्वाचनमा सहभागी हुने निर्णय
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनसम्बन्धी विवादित विषयमा कुनै ठोस निर्णयमा नपुगेको अवस्थामा शनिबार सकिएको छ। सानेपामा बसेको बैठकले महाधिवेशनका मुद्दाहरूलाई आगामी बैठकसम्मका लागि थाती राख्दै २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ।
बैठकका निर्णयहरू महासमिति सदस्यहरूलाई जानकारी गराउँदै महामन्त्री गगनकुमार थापाले सबै विषय एकैपटक टुंग्याउने प्रयास भए पनि सहमति हुन नसकेको बताए। उनका अनुसार राष्ट्रिय राजनीतिसम्बन्धी केही महत्वपूर्ण निर्णयहरू भने बैठकले पारित गरेको छ।
‘सवै विषयमा निर्णय नहुन सके पनि केही विषयमा स्पष्टता आएको छ,’ एक नेताले महामन्त्री थापाको भनाइ उद्धृत गर्दै बताए, ‘बाँकी मुद्दाहरूलाई केही दिनभित्रै गहन छलफल गर्दै सहमतिको प्रयास हुनेछ, आवश्यक परे विधिगत प्रक्रियामार्फत निष्कर्षमा पुगिन्छ।’
महामन्त्री थापाले पनि बाँकी रहेका विवादित बुँदाहरू आगामी बैठकमै टुंग्याइने स्पष्ट गरेका छन्।
नेपाली कांग्रेसको आन्तरिक कुटनीति, आगामी महाधिवेशनको तयारी तथा निर्वाचन रणनीतिबारे चासो बढिरहेको समयमा बैठकको निष्कर्षविहीनता पार्टीभित्र थप बहसको विषय बनेको छ।