मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्र लाभ कर्ण नियुक्त हुने
२५ कात्तिक, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपतिले सुवेदीलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुवेदीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। संविधानको धारा १६५ को उपधारा १(ख) बमोजिम उनलाई पदमुक्त गरिएको हो।
सुवेदी हालै मुख्यमन्त्री नियुक्तिसँग सम्बन्धित विवादमा परेकी थिइन्। लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने अवस्था नदेखिएपछि कात्तिक २२ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख सुवेदीले सबैभन्दा ठूलो दल एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
तर, उनले स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै गरेको बेला महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पानस होटलमा झिसमिसेमा यादवलाई शपथ ग्रहण गराएको घटनाले विवाद निम्त्याएको थियो।
यस घटनापछि सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई पदमुक्त गरी उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।