सल्यानमा क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा ‘स्वतन्त्र संयुक्त सरकार’ गठनको आह्वान, पर्चा वितरण
सल्यान, १ मंसिर – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सल्यान जिल्लाका प्रमुख बजार क्षेत्र थारमारे र श्रीनगरमा राजनीतिक पर्चा वितरण गर्दै ‘स्वतन्त्र संयुक्त सरकार’ गठनको आह्वान गरेको छ।
पार्टीका जिल्ला सेक्रेटरी उज्ज्वलको नेतृत्वमा मंगलबार गरिएको यो अभियानले दुवै क्षेत्रमा राजनीतिक माहोल तताएको छ। पर्चा वितरण थारमारे र श्रीनगरका स्थानीय पसल, चिया होटल, किराना पसल तथा अन्य सार्वजनिक स्थानहरूमा गरिएको थियो।
पर्चामा वर्तमान सत्तासीन दलहरूको तीव्र आलोचना गर्दै देशमा वैकल्पिक राजनीतिक मार्गनिर्देशन आवश्यक भएको उल्लेख गरिएको छ। साथै भ्रष्टाचार, अस्थिरता र प्रतिगमनका प्रयासको विरोध गर्दै राष्ट्रिय स्वाधीनता र जनजीविकाको सवाललाई जोड दिइएको छ।
स्थानीय प्रतिक्रियाबारे बोल्दै जिल्ला सेक्रेटरी उज्ज्वलले भने, “यो अभियानको उद्देश्य जनतामा वैकल्पिक राजनीतिक दिशाबारे चेतना फैलाउने र वर्तमान शासनको विफलताबारे बहस खोल्नु हो। स्थानीयहरूले देखाएको चासो सकारात्मक संकेत हो।” उनले सबै समुदायलाई राष्ट्रिय स्वाधीनता र जनजीविकाको आन्दोलनमा एकजुट हुन आह्वान समेत गरे।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले आगामी दिनमा यस प्रकारका अभियानलाई निरन्तरता दिने संकेत दिएको छ।
