उपेन्द्र यादवको प्रश्न : ‘जेनजी आन्दोलन केवल चुनावमा सीमित हुने हो ?’
काठमाडौँ, १९ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जेनजी पुस्ताको आन्दोलनलाई केवल निर्वाचनमा सीमित गरिएको टिप्पणी गरेका छन्।
बुधबारदेखि काठमाडौँमा सुरु भएको जसपा नेपालको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, “युवा पुस्ताले गरेको विद्रोहको उपलब्धि केवल सरकार परिवर्तन र २०८४ मा हुने संसदीय निर्वाचन २०८२ मा हुनेमा मात्र सीमित रहने हो कि भन्ने आशंका र द्विविधा उत्पन्न भएको छ।”
अध्यक्ष यादवले हाल संविधान संशोधन, निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन, समानुपातिक समावेशी र पहिचानका मुद्दा ओझेलमा परेको बताए। उनले भने, “क्रान्तिकारी परिवर्तन भनेको केवल सत्ताको हस्तान्तरण होइन, सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक जीवनमा आमूल रूपान्तरण हो।”
निर्धारित समयमा प्रतिनिधि सभा निर्वाचन हुनुपर्नेमा जोड दिँदै उनले समान जनसंख्या आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण गर्नुपर्ने र महिला तथा दलित समुदायका लागि छुट्टै आरक्षित क्षेत्रको व्यवस्था गर्नुपर्ने माग गरे।
यादवले जनताको सार्वभौमसत्ता विपरीत गरिएका कार्यहरू जसपालाई स्वीकार्य नहुने उल्लेख गर्दै विगतका उपलब्धिलाई धराप पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए। साथै, उनले दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र थरुहट आन्दोलनमा भएका घटनासम्बन्धी छानबिन आयोगका प्रतिवेदनहरू सार्वजनिक गर्न सरकारलाई माग गरे।