नेकपाले गठन गर्यो १३८ सदस्यीय केन्द्रीय कमिटी, प्रचण्ड संयोजक, माधव सह-संयोजक
काठमाडौँ, कात्तिक १९ – १० वाम दल मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १३८ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ। पार्टीले प्रचण्डलाई संयोजक र माधवकुमार नेपाललाई सह-संयोजक तोकेको छ भने तेस्रो वरीयताका नेता झलनाथ खनाललाई सदस्य मात्र राखिएको छ।
सूचीमा प्रचण्डकी बुहारी बीना मगर १३८ औँ नम्बरमा, पुत्री रेनु दाहाल १२९ औँ नम्बरमा छन्, तर गंगा दाहाल समावेश छैनन्। नेकपाले आगामी फागुन २१ का लागि घोषणा गरेको आमनिर्वाचनको तयारीमा कात्तिक ३० भित्र दल दर्ता गरी प्रमाणपत्र लिन आवश्यक भएकाले पहिलो चरणमा १३८ जनाको कमिटी निर्माण गरिएको हो।
पार्टी सचिवालयका अनुसार संयोजक र सह–संयोजक बाहेक अन्य पद र समितिहरू आपसी सहमतिमा गठन हुनेछन्। माओवादी केन्द्रका ७० भन्दा बढी र एकीकृत समाजवादीका कम्तीमा ४० जनालाई कमिटीमा समावेश गरिएको छ। विधान अनुसार एकतिहाइ महिला सदस्य समावेश गर्नुपर्ने प्रावधानको पालना गर्दै १३ जना महिला केन्द्रीय सदस्य थपिएका छन्।
नेकपाको प्रस्तावित विधान अनुसार भविष्यमा संघीय कमिटी ३०१ सदस्यीय रहनेछ।