राप्रपामा असन्तुष्टि चुलियो, महामन्त्री धवलशम्शेर राणाले बोलाए आफ्ना पक्षको बैठक
१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र आन्तरिक असन्तुष्टि झनै तीव्र बनेको छ। पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाले आफ्नो पक्षका नेताहरूको छुट्टै बैठक बोलाएका छन्।
राणाले आज अपरान्ह साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा असन्तुष्ट नेताहरूको बैठक बोलाएका हुन्। राणानिकट एक केन्द्रीय सदस्यका अनुसार आसन्न केन्द्रीय समिति बैठकमा समूहगत धारणा तय गर्नका लागि यो बैठक आयोजना गरिएको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कात्तिक २७ र २८ गते केन्द्रीय समितिको बैठक बोलाइसकेका छन्। सो बैठकअघि राणापक्षले आन्तरिक तयारी स्वरूप धारणा निर्माण गर्न बैठक राखेको बताइएको छ।
पार्टीभित्र पछिल्ला निर्णय, नेतृत्वको कार्यशैली र संगठन विस्तारका विषयमा देखिएको असन्तुष्टिले राप्रपाको आन्तरिक राजनीतिमा फेरि हलचल ल्याएको छ।