सुमना श्रेष्ठले युवालाई मतदाता नामावली दर्तामा सहयोग गर्न गरिन् आह्वान
काठमाडौं, २७ कात्तिक — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्वमन्त्री सुमना श्रेष्ठले आम नागरिक, विशेषगरी युवाहरूलाई स्मार्टफोन र ल्यापटप लिएर सडकमा निस्केर मतदाता नामावली दर्ता प्रक्रियामा सहयोग गर्न आह्वान गरेकी छन्। उनले राष्ट्रिय परिचयपत्र (नेपल आइडी) को बायोमेट्रिक विवरण अब निर्वाचन आयोगले सोझै प्रयोग गर्न सक्ने भएकाले प्रक्रिया पहिलेभन्दा सजिलो भएको जानकारी दिइन्।
श्रेष्ठले रेस्टुरेन्ट तथा सेवा क्षेत्रमा कार्यरत धेरै युवाहरूको मतदाता परिचयपत्र नभएको तर्फ ध्यानाकर्षण गर्दै उनीहरूलाई सहजीकरण गर्न आग्रह गरिन्। उनले सार्वजनिक स्थलमा लाइनमा बसेका मानिसलाई परिचयपत्र बनाएको या नबनाएको सोधेर आवश्यक परे मोबाइल वा कम्प्युटरबाट अनलाइन फारम भर्न सहयोग गर्न सुझाइन्।
मतदाता नामावली दर्ताका लागि अब चार दिन मात्र बाँकी रहेको स्मरण गराउँदै उनले सबैलाई अभियानलाई तीव्र पार्न र छुटेकाहरूलाई समयमै दर्ता गराउन प्रोत्साहित गरेकी छन्।