डा. सीके राउतले मधेश प्रदेश स्वायत्त घोषणा गर्न आह्वान
काठमाडौं — जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई पूर्ण स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन्। एमालेका सरोज कुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि डा. राउतले आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै ‘स्वायत्तताको आन्दोलन’ आवश्यक रहेको बताएका हुन्।
डा. राउतले फेसबुकमा लेखेका छन्, “मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ। नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो। मधेश प्रदेश सभाको बैठकबाट मधेशको स्वायत्तता घोषणा गरौं, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं।”
उनले थप भनेका छन् कि संविधान र संघीय संरचनाको नाममा मधेशी जनताको अधिकारमाथि दमन र नियन्त्रण भइरहेको छ। राउतले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि स्वायत्तता घोषणा गर्न आह्वान गरेका छन्।
उनले भनिरहेका छन्, “५४ प्रतिशत जनसंख्या भएको मधेश मुठ्ठीभर नेपाली शासकको जागिर होइन। सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग, प्रहरी र कर्मचारीले मधेशलाई छिन्नभिन्न पार्ने, दमन गर्ने षड्यन्त्र रोक्न पूर्ण स्वायत्तताको आन्दोलनको उदघोष जरूरी छ।”
यो कदम मधेसमा राजनीतिक तनाव र केन्द्र–प्रदेश बीचको शक्ति विवादलाई अझ बढाउने सम्भावना रहेको छ।